प्रवर्धन संवादाता । १९ चैत २०७६, बुधवार
उत्तरी इटालीको सेन्ट जोसेफ चर्चमा दैनिक ठूलो संख्यामा कोविड-१९ संक्रमणका मृतकहरु ल्याइन्छ । मृतकहरुलाई पादरी मारियो क्यामिनार्तीले अन्तिम बिदाई गर्दा मृतकहरु सँग कोही पनि आफ्नो परिवार र आफन्तहरू नहुने बताएका छन्। सेनाको गाडीले सबै मृतकहरुलाई अन्तिम संस्कार गर्नुभन्दा अगाडि कुनै गोदाममा राख्न नपरोस् भनेर कोविड-१९ संक्रमणको महामारीको बेलामा पनि आफ्नो चर्च खुल्ला राखिएको बताउँछन्। परम्परागत अन्त्येष्टिमा रोक लगाइएकोले सबै मृतकहरुलाई सेनाको गाडीमा हालेर सेनालेनै अन्त्येष्टिको व्यवस्था गरिने जनाएको छ।
इटली विश्वको दोस्रो स्वास्थ्य सेवा पूर्वाधार राम्रो भएको देश मानिन्छ। यस्तो हुँदाहुँदै पनि समयमै कोविड-१९ संक्रमणको गम्भीरता पहिचान गर्न नसक्दा इटालीले ठूलो मूल्य चुकाउनुपरेको छ। स्वास्थ्य सेवा राम्रो भएकै कारण इटलीका जनताले कोविड संक्रमण सुरु भएपछि पनि आफ्नो दैनिक काम जारी राखेका थिए।
इटलीमा अहिले युरोपको सबैभन्दा बढी १०१७३९ जनामा कोविड-१९ को संक्रमणको जाँच पोजिटिभ आएको छ भने मृत्यु हुने संख्या ११५९१ पुगेको छ। इटलीमा भएको संक्रमणको मृत्यु दर सबैभन्दा धेरै हो। इटलीको सहायक स्वास्थ्यमन्त्री पिए पाउलोका अनुसार लकदाउनले गर्दा मृत्युदरको चरम स्थितिबाट अब एक हप्ता देखि १० दिन सम्ममा मृत्यु दर ओरालो लाग्ने आशा गरेका छन् ।