प्रवर्धन संवादाता । २८ असार २०७७, आइतवार
चेन्नई । १९ वर्षीय किशोरले बैङ्कको नक्कली शाखा खोले, तीन महिनासम्म कारोबार हुँदासमेत कसैले थाहा पाएनन् । भारतको चेन्नईमा स्टेट बैङ्कको शाखाका रुपमा तीन महिनादेखि बैंकिङ कारोबार गर्दै आएको शाखा कार्यालय नै नक्कली भएको पाइएको छ । स्टेट बैङ्कसँग कुनै सम्बन्ध नै नरहेको अवस्थामा पनि बैङ्कको शाखा कार्यालयका रुपमा तीन महिनादेखि कारोबार गर्दै आएको पाइएको छ । एउटा शाखा कार्यालयमा एक ग्राहकले नै शाखा प्रवन्धकसँग सो नक्कली शाखाको बारेमा सोधेका थिए । ग्राहकको प्रश्नपछि शाखा प्रबन्धक चकित भए । उनले यस क्षेत्रमै स्टेट बैङ्कको दुईवटा मात्र शाखा रहेको बताए । ग्राहकले तेस्रो शाखाको कागजात देखाएपछि उनीहरु कथित तेस्रो शाखा कार्यालय हेर्न गए । त्यहाँ पुग्दा बैङ्कका कर्मचारी नै अचम्म भए। कार्यालयको सजावट, भौतिक संरचना , नगद जम्मा गर्ने भौचर, रबर स्टाम्प, फाइलमा बैङ्कको नाम प्रिन्ट भएको र नगद काउन्टरमा रकम गणना गर्ने मेसिन लगायतका सामान लगायत सबै बन्दोबस्त कुनै बैङ्कको जस्तै थियो । स्टेट बैङ्कको उजुरीका आधारमा प्रहरीले छापा मारेर नक्कली शाखा खोल्न संलग्न तीन जनालाई पक्राउ गरेको छ । उनीहरु मिलेर गत अप्रिलमा बैङ्कको नक्कली शाखा खोलेका थिए । नक्कली शाखा खोल्ने योजनाकार मानिएका १९ वर्षीय कमलले आमाबुवा नै बैङ्कका जागिरे भएका कारण आफूले सानैदेखि बैंकिङ कारोबारलाई नजिकबाट हेरेको बताएका छन् । पिताको मृत्यु भएको र आमाले पनि बैङ्कबाट अवकाश पाएपछि यसरी बैङ्क खोलेको उनले बताएका छन् । तीन महिनामा उनीहरुले कति निक्षेप संकलन गरे, उक्त रकम हाल कुन अवस्थामा छ, कति मानिस ठगिए भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ ।