• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


संवादाता

: जी ७ का नेताहरूले युक्रेनका राष्ट्रपतिसँग छलफल गर्ने

Card image cap

 

बर्लिन, २३ बैशाख  - विश्वका प्रमुख सात देशका नेताहरूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्ने भएका छन् ।  अर्थतन्त्रमा मजबुत मानिएका ती देशका नेताहरूले युक्रेनलाई गर्न सकिने सहयोगका बारेमा छलफल गर्नु भएको अधिकारीहरूले जनाएका छन् । जर्मन सरकारका एक जना प्रवक्ताले आगामी आइतबार उहाँहरूका बीचमा छलफल हुने शुक्रबार जानकारी दिएका छन् ।  अहिले जी ७ को अध्यक्ष समेत रहेको जर्मनीले नै बैठकको संयोजन गरेको समाचारमा जनाइएको छ ।  जर्मन प्रवक्ता क्रिश्चियन होफमानले पत्रकारहरुसँग भन्नुभयो, “जर्मनीका चान्सलर अलाफ सोल्जले नै बैठकको संयोजन गर्नुहुने भएको छ ।” उहाँका अनुसार भिडियो मार्फत हुने यस्तो बैठक यस वर्षमात्रै अहिले तेस्रो पटक हुन लागेको हो ।   दोस्रो विश्व युद्ध अन्त्य भएको ऐतिहासिक दिनको रुपमा लिइने मे ८ कै दिन यस पटकको बैठक हुन लागेको जनाइएको छ । बैठकमा विश्वव्यापी समसामयिक विविध विषयमा सामान्य छलफल गरी मुख्य छलफल युक्रेन सङ्कटमा केन्द्रित हुने अधिकारीहरूले जनाएका छन् ।  बैठकमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले देशको अहिलेको अवस्था र आवश्यकताका बारेमा विश्वका प्रभावशाली ती नेताहरूलाई जानकारी दिनुहुनेछ । जी ७ का नेताहरू युक्रेनलाई सहयोग गर्ने र रुसलाई आक्रमण अन्त्यका लागि दवाव दिने पक्षमा रहँदै आएका छन् ।  जी ७ अन्तर्गत क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका पर्दछन् । ती सबै देशले  पहिले देखि नै युक्रेनको पक्षमा आफ्नो मत जाहेर गरिरहेका थिए भने आ आफ्नो तर्फबाट युक्रेनलाई यसअघि पनि सहयोग गर्दै आएका थिए ।  गत फेब्रुअरीको अन्त्य तिर रुसले युक्रेनमाथि आक्रमण सुरु गरेकोमा अहिलेसम्म सयौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् । ठूलो भौतिक क्षति पनि भएको छ । रासस

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved